दैलेख : श्रमिक समुदाय मोर्चा नेपाल जिल्ला समिति दैलेखले अपमानजनक नाम सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले शुक्रवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र बुझाएको हो ।
मोचाका जिल्ला समिति अध्यक्ष जनक सिद्धारा जारी गरिएको ज्ञापन पत्रमा तथ्यको आधारमा उत्पीडित समुदायका व्यक्तिको इच्छा अनुसार व्यक्तिको पुरानो नागरिकतामा रहेको अपमानजनक र अमिल्दो थर सच्याई जातिगत थर राखेर नागरिकता बनाउन सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ ।
संवैधानिक तथा कानुनी उपचार एवं पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि राज्यव्यवस्थामा आमूल परिवर्तन, यस समुदायको आर्थिक हैसियतमा विकास, श्रमिक समुदायका व्यत्तिहरुको चौतर्फी नेतृत्व निर्माण र वैज्ञानिक विचार संस्कृति निर्माणका लागि जागरण अभियान सञ्चालन गर्नु मुख्य कामहरू रहेका ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल सरकार र राष्ट्रिय दलित आयोगले थर सूचीकरण गरेको र गृह मन्त्रालयले थर सच्याउन आएमा सहयोग गर्ने भन्ने परिपत्र जारी गरे अनुसार सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको श्रमिक समुदाय मोर्चा नेपाल जिल्ला समिति दैलेखका अध्यक्ष जनक सिले बताए ।











